नाडाले बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाण्डौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी प्रभावित क्षेत्रको तत्काल राहत, उद्धार तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राहत कोषमा सहयोग गर्ने जानकारी दिएका हुन् । नाडाले विपद्को कठिन अवस्थामा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक एकजुट भएर उद्धार, राहत र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । साथै, नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकताबद्ध भएर प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग गर्न आह्वान गरेको छ ।

बाढीमा परी ज्यान गुमाउनेप्रति नाडाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नाडाले उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रप्रति आभारसमेत व्यक्त गरेको छ । प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपत्कालीन सूचना जारी गर्ने तथा उद्धार र राहत उडानको समन्वय गर्ने सरकारको प्रयासको नाडाले प्रशंसा गरेको छ । यसैबीच, विपद्का कारण आर्थिक गतिविधि प्रभावित हुन नदिन काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने नाडाले जनाएको छ । आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेको भन्दै अध्यक्ष उप्रेतीले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन् । सरकार, निजी क्षेत्र र नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने नाडाको विश्वास छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *