यती एयरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने, यात्रुलाई न्यूनतम भाडा
काठमाण्डौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले प्राकृतिक विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री निःशुल्क हवाई ढुवानी गर्ने भएको छ। विपद्का कारण स्थलमार्ग प्रभावित भइरहेका बेला राहत तथा अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्याउन सहयोग गर्ने उद्देश्यले कम्पनीले यस्तो व्यवस्था गरेको हो। यती एयरलाइन्सका अनुसार विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री हवाईमार्गबाट निःशुल्क ढुवानी गरिनेछ। यसबाट सडक सम्पर्क प्रभावित भएका क्षेत्रमा आवश्यक राहत सामग्री छिटो पुर्याउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।
प्राकृतिक विपद्का कारण विभिन्न सडक तथा अन्य यातायात सेवा प्रभावित भएपछि हवाई यात्रामा चाप बढेको छ। सडकमार्गबाट गन्तव्यमा पुग्न कठिनाइ भएका यात्रुले हवाई यात्रा रोज्दा टिकटको मागसमेत बढेको छ। कम्पनीले यही अवस्थालाई ध्यानमा राखेर यात्रुमाथि अतिरिक्त आर्थिक भार पर्न नदिन न्यूनतम भाडादर कायम गर्ने निर्णय गरेको जनाएको छ। विपद्को समयमा बढ्दो मागलाई आधार बनाएर भाडा बढाउनुको सट्टा सहुलियतपूर्ण दरमा सेवा उपलब्ध गराउने नीति लिइएको कम्पनीको भनाइ छ।

















