भाटभटेनी सुपरमार्केट्समा चिनी ११० रुपैयाँ किलो
काठमाडौं । बजारमा चिनीको मूल्य १४० रुपैयाँसम्म प्रतिकिलो पुगेका बेला भाटभटेनी सुपरमार्केट्सले ११० रुपैयाँ किलो उपलब्ध गराइरहेको जनाएको छ । भाटभटेनीका सीओओ पानु पौडेलले बजारमा चिनीको मूल्य अत्यधिक बढेको गुनासो रहेको बताउँदै आफुहरुले सबै स्टोरबाट ११० रुपैयाँ प्रतिकिलो उपलब्ध गराइरहेको बताए । “हामीले ३ देखि ५ रुपैयाँसम्म घाटा बेहोरेरै ग्राहकलाई ११० रुपैयाँ प्रतिकिलो चिनी उपलब्ध गराइरहेका छौँ,” उनले भने, “यहाँबाट लगेर बाहिर बिक्री नहोस् भनी एक जनालाई तीन किलोसम्म दिएका छौँ ।” उनले चाडबाडको बेलामा उपभोक्तालाई मार नपरोस् भनेर यस्तो निर्णय भएको बताए ।

















