सञ्चारकर्मलाई बाधा नपार्ने, हरसम्भव सहयोग गर्छौ : महानिरीक्षक कार्की
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सञ्चारकर्मीहरूबाट निष्पक्ष तथ्यपूर्ण एवम साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् । शनिवार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सञ्चारकर्मी साथीहरूबाट साहसिक निष्पक्ष तथ्यपूर्ण एवम साहसिक रिपोर्टिङको अपेक्षा राखेको उल्लेख गरेका छन् । सञ्चारकर्मसँग कतै, कुनै पनि प्रकारको बाधा नपरोस भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी प्रतिबद्ध छ,’ उनले भनेका छन् । संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहने उनले बताए । सञ्चारकर्मीको निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा राखेको उनको भनाइ छ । वर्षा, सम्भावित हावाहुरी तथा त्यसले सिर्जना गर्न सक्ने परिस्थिति एवं सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्नु अहिले हामी सबैको साझा दायित्व हो, उनले भने । विपदबाट जनधनको सुरक्षा गर्ने नेपाल प्रहरी दत्तचित्त भएर आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहेको कार्कीको भनाइ छ ।

















