राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षहरूको प्रभावकारी कार्यान्वयन गर्न ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै ओलीले सो निर्देशन दिएका हुन् । उनले पार्टीका तत्कालीन दुई कार्यभार र १५ कामलाई केन्द्रमा राखेर प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूले आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले बाँकी रहेका सङ्गठनात्मक काम तथा कार्य विभाजनसम्बन्धी आवश्यक निर्णय पार्टीको सचिवालय वा स्थायी कमिटीबाट गरिने जानकारी समेत गराएका छन् । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कमिटीको पाँचौँ बैठक माघमा राखेर पार्टीका समसामयिक विषयमा विस्तृत छलफल गर्ने प्रस्ताव समेत राखेका छन् । बैठक आजै सम्पन्न भएको छ ।


















