मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा जोशी निर्वाचित
काठमाण्डौं । नेपाल मर्चेन्ट बैंकर्स संघको १७औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका मनीष नारायण जोशी निर्वाचित भएका छन्। त्यस्तै, उपाध्यक्षमा एनएमबी क्यापिटल लिमिटेडका दीपेशकुमार वैद्य, महासचिवमा एनआईएमबी एस क्यापिटल लिमिटेडका शिवान्तबहादुर पाँडे र कोषाध्यक्षमा कुमारी क्यापिटल लिमिटेडकी पुष्प शर्मा चयन भएका छन्। कार्यसमिति सदस्यमा सिद्धार्थ क्यापिटलका सन्दीप कार्की, ग्लोबल आइएमई क्यापिटलका मन्दिप लुइँटेल र नेसनल क्यापिटलका अर्पण खनाल सर्वसम्मत चयन भएका छन्। साधारणसभाले आर्थिक वर्ष २०८२।८३ मा संघले गरेका गतिविधि तथा आर्थिक कार्यसम्पादनको समीक्षा गरेको थियो।
साथै, उक्त आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण र आर्थिक वर्ष २०८३।८४ को वार्षिक बजेट तथा प्रस्तावित कार्यक्रम पनि अनुमोदन गरेको संघले जनाएको छ। नवनिर्वाचित कार्यसमितिले नेपालको पुँजी बजारलाई थप सुदृढ बनाउने, सदस्य संस्थाबीच सहकार्य र समन्वय बढाउने तथा दिगो वित्तीय अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ। नियामक निकायसँग रचनात्मक सहकार्य गर्दै मर्चेन्ट बैंकिङ क्षेत्रको विकास र व्यावसायिक उन्नतिमा योगदान पुर्याउने लक्ष्य पनि कार्यसमितिले लिएको छ।


















