काठमाडौं-४ : गगन र राजनको दोस्रो मुकाबिला, कसले मार्लान बाजी ? के चाहन्छन् मतदाता ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा नेता–कार्यकर्ताहरू प्रचार–प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन् । विभिन्न योजना तथा कार्यक्रम सुनाएर मतदाता रिझाउने र मत माग्ने क्रम चलिरहेको छ ।

निकै चासोका साथ हेरिएको काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्फ विभिन्न १७ राजनीतिक दल र १४ स्वतन्त्रसहित ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा ९एमाले०का विदेश विभाग प्रमुख डा राजन भट्टराईलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । थापा र भट्टराईबीच यो दोस्रोपटकको चुनावी मुकाबिला हो ।

कांग्रेस महामन्त्री थापाले निर्वाचनपछिको सरकारमा नेतृत्व गर्न आफू तयार रहेको र त्यसका लागि पार्टीभित्रसमेत पहल गर्ने बताइरहेका छन् । राष्ट्रिय राजनीति र सरकारसमेतको नेतृत्वदायी भूमिकामा रहने भएपछि यस क्षेत्रका मतदातामा फरक खालको उत्साहसमेत देखिन्छ । अहिले सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका थापा यही क्षेत्रबाट तेस्रोपटक चुनावी स्पर्धामा छन् ।

अर्कोतर्फ एमालेका उम्मेदवार डा भट्टराईको जनआधार र चुनावी रणनीति पनि उत्तिकै बलियो छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार भएर काम गरेका भट्टराईलाई नेतृत्व क्षमता र कार्यकुशलताका हिसाबले मात्र नभई अन्तर्राष्ट्रिय मामिलामा समेत दक्खल राख्ने सक्षम उम्मेदवारका रूपमा हेरिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत विभिन्न दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रचार–प्रसारमा छन् । तर वास्तविक प्रतिस्पर्धा भने थापा र भट्टराईबीच नै हुने देखिन्छ ।

के चाहन्छन् मतदाता ?

राष्ट्रिय राजनीतिमा महत्वपूर्ण प्रभाव राख्न सक्ने उम्मेदवार यो क्षेत्रमा प्रतिस्पर्धी भए पनि उहाँहरूसँग जनताका अपेक्षा भने खासै ठूला देखिँदैनन् । सडकको धुँवा–धुलो, फोहर, खानेपानी व्यवस्थापनलगायतका समस्या मतदाताले सुनाउने गरेका छन् । केही व्यक्तिले ठूला प्रतिस्पर्धी दल र उम्मेदवारका पक्षमा स्पष्ट खुलेरै आफ्नो धारणा राखे ।

यद्यपि पुरानो राजनीतिक दल र उम्मेदवारको विकल्प खोज्नुपर्ने धारणा राख्ने मतदाता पनि उत्तिकै छन् । ‘पुरानै दल र पुरानै नेता हुनुपर्छ भन्ने छैन । हामीले लामो समयदेखि उनीहरूलाई हेरिसक्यौँ । अब नयाँ दल र नयाँ अनुहार खोज्नुपर्छ’, बुधबार बिहान कपन पिपलबोटमा भेटिएका ३४ वर्षीय सुमन उप्रेतीले भने ।

बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत १०, ११ र १२ नं वडामा पर्ने कपन क्षेत्रको डुबान समस्याबारे स्थानीयवासीको आक्रोशसँगै निर्वाचित प्रतिनिधिहरूसँग अपेक्षा पनि रहेको देखिन्छ । कपनको नेपाल टेलिकम कार्यालय नजिकै खाद्यान्न पसल सञ्चालन गर्दै आएकी सदीक्षा रोका त्यस क्षेत्रका उम्मेदवारले बाढी नियन्त्रणका लागि पहल गरिदिनुपर्ने अपेक्षा रहेको बताउँछन् ।

‘पानी पर्नेबित्तिकै बाटो खोलाजस्तो बन्छ । घर, पसलमा पानी छिरेर हैरान बनाउँछ’, उनले भनिन्, ‘नेताहरु आउँदा यहाँका स्थानीयवासीले बढी माग पनि यही बाढीको समस्या नियन्त्रणका लागि राख्छन् ।’ कपन क्षेत्रको बाढी नियन्त्रणका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणले बक्स कल्भर्ट बनाउने भने पनि त्यो प्रभावकारी नदेखिएकाले अरु नै विकल्प खोज्नुपर्ने रोकाको भनाइ छ ।

गौशाला, रातोपुल र ज्ञानेश्वर क्षेत्रको सडक विस्तारमा भएको ढिलाइबारे पनि स्थानीयवासीको आक्रोश सुनिने गरेको छ । ‘वर्षौँदेखि यहाँ सडक विस्तारको काम चाँडै हुन्छ भनेर सुनेको हुँ । सडक खन्ने तर कालोपत्र नगरेर त्यसै छाड्ने गर्नाले वर्षामा हिलो र हिउँदमा धुलोको समस्या यहाँ मात्र होइन सबैतिर हामीले भोग्नुपरेको छ’, रातोपुलमा भेटिएका पैदलयात्री श्रीजन महर्जनले भने ।

थापा र भट्टराईसँग काठमाडौँ क्षेत्र नं ४ का जनताको मात्रै अपेक्षा रहेको नभई देशभरका जनताको आशा उहाँहरूमाथि रहेको चाबहिल गणेशस्थानमा भेटिएका दिलीप सुवेदीको धारणा छ । ‘देश हाँक्ने क्षमता भएका नेतालाई हामीले स–साना समस्या देखाएर मात्रै हुँदैन । तर निर्वाचन क्षेत्र भएपछि अपेक्षा त स्वाभाविकरूपमा रहन्छ । मेलम्चीको पानी कहिले आउँछ रु भनेर सोध्ने त उहाँहरूलाई नै हो’, उनले भने ।

के छन् उम्मेदवारका एजेन्डा ?

आफ्नो निर्वाचन क्षेत्रका आवश्यकता पहिचान र त्यसको पूर्तिका लागि हरसम्भव प्रयास गरेको थापाको दाबी छ । काठमाडौँ महानगरपालिकाभित्रका सम्पदा जोगाउने र त्यस्ता सम्पदाको वास्तविक परिचय कसरी दिन सकिन्छ भनेर आफूले काम गरिरहेको उनको भनाइ छ । नक्साल र चाबहिललाई केन्द्र बनाएर सांस्कृतिक पुनर्जागरण अभियान चलाएको उनको भनाइ छ ।

त्यस्तै भगवतीबहालबाट नागपोखरीसम्मको सडकमा सवारीसाधन पूर्णरूपमा बन्देज लगाएर ‘हेरिटेज वाक’ का रूपमा विकास गर्ने योजनालाई उनले प्राथमिकतामा राखेका छन् । खुला स्थानको अतिक्रमण रोक्ने र त्यस्ता स्थानलाई पार्कका रूपमा विकास गर्ने योजनालाई पनि चुनावी एजेण्डाका रूपमा राखेका छन् ।

बूढानीलकण्ठ क्षेत्रका १३ वटा क्षेत्रलाई समेट्ने गरी डिठ्ठाचौरमा नगर अस्पताल बनाएको, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र बनाएर त्यस्ता केन्द्रबाट घर–घरमा स्वास्थ्य सुविधा दिनेलगायतका स्वास्थ्य क्षेत्रका एजेण्डा पनि उनको प्राथमिकतामा छन् । खानेपानीका समस्या समाधान गर्न मेलम्ची र अन्य स्थानीयस्तरका एक दर्जन बढी खानेपानी आयोजना सम्पन्न भइसकेको थापाको दाबी छ ।

भौतिक विकास मात्र नभई सामाजिक अभियानसमेत चलाएको दाबी थापाको छ । स्वास्थ्य क्षेत्रमा निःशुल्क पाठेघर र स्तन क्यान्सर परीक्षण तथा जनचेतना कार्यक्रम, यौन दुव्र्यवहार र मानसिक स्वास्थ्यलगायत अभियानहरू सञ्चालनका लागि आफूले भूमिका खेलेको पनि उनको भनाइ छ । त्यस्तै उद्यमशीलता विकास र स्वरोजगारका लागि विभिन्न कार्यक्रम बनाएर जानेलगायतका एजेण्डा थापाका छन् ।

एमाले उम्मेदवार भट्टराईले जनजीविका, सामाजिक सुरक्षा तथा सुशासन, ढल तथा डुबान नियन्त्रण, सडक तथा यातायातलगायत पूर्वाधार क्षेत्रको परिवर्तनका लागि काम गर्ने भन्दै मतदातालाई आश्वस्त पारिरहेका छन् । यो निर्वाचन क्षेत्रभित्रका विश्व सम्पदा सूचीमा रहेका सम्पदाको संरक्षण, नियमन र विकासका लागि एकीकृत गुरुयोजना तयार पारिने उनको चुनावी एजेण्डा छ ।

पशुपति, गुह्येश्वरी, बौद्धस्तूप, बूढानीलकण्ठलगायत धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका संरचना संरक्षण र संवद्र्धनसँगै शिवपुरी क्षेत्रलाई काठमाडौँको हाइकिङ हबका रूपमा अघि बढाउनेसम्मका योजना भट्टराईका छन् ।

कालोबजारी नियन्त्रण, बजार अनुगमन र उपभोक्ता हितका क्षेत्रमा गम्भीरताका साथ काम गर्ने एजेण्डा पनि उहाँको प्राथमिकतामा रहेको देखिन्छ । त्यस्तै मौलिक उत्पादनको संवद्र्धन, प्रवद्र्धन र बजारीकरण गर्ने, उक्त निर्वाचन क्षेत्रभित्र पर्ने सबै भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्नेलगायतका एजेण्डा पनि भट्टराईले उठाइरहेका छन् । जनस्वास्थ्य र सरसफाइका क्षेत्रमा आमूल परिवर्तन गर्ने सोच पनि उनको देखिन्छ ।

अघिल्ला चुनावको अवस्था

क्षेत्र नं ४ अन्तर्गत काठमाडौँ महानगरपालिकाको १, ७, ८ र ३० वडा पर्दछन् भने बूढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्दछन् । निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा ६९ हजार सात सय ५२ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको १ नं वडामा एमाले तथा ७, ८ र ३० नं वडामा कांग्रेसले जितेको थियो ।

बूढानीलकण्ठ नगरपालिकाभित्र पर्ने क्षेत्र नं ४ का सबै वडामा भने एमालेले जित हासिल गरेको थियो । वडाध्यक्षले पाएको मतका आधारमा त्यहाँ एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छ । तर नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितको मतका आधारमा भने गठबन्धन अगाडि छ ।

वि.सं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–४ मा २१ जना प्रतिस्पर्धी थिए । उक्त निर्वाचनमा कांग्रेसका थापा २१ हजार पाँच सय ५८ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका भट्टराईको मत १८ हजार एक सय ४० थियो । त्यस्तै तेस्रो स्थानमा रहेको विवेकशील साझा पार्टीले तीन हजार ४० मत ल्याएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (माले), नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमका उम्मेदवारले पाएको मतसङ्ख्या क्रमशः एक सय ५४, एक सय ३३ र एक सय १२ थियो । प्रतिस्पर्धामा रहेका अन्य दल र स्वतन्त्र उम्मेदवारले भने एक सय मत पनि कटाउन सकेका थिएनन् ।

त्यस्तै संविधानसभाको दोस्रो निर्वाचन २०७० मा पनि काठमाडौँ क्षेत्र नं ४ मा थापा नै विजयी हुनुभएको थियो । उनले तत्कालीन एकीकृत माओवादीका उम्मेदवार नन्दकिशोर पुन र एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा थापाले २२ हजार तीन सय ३६ मत ल्याउँदा कुइँकेलको नौ हजार २८ र पुनको छ हजार चार सय ६२ मत थियो ।

वि.सं २०६४ को संविधानसभा निर्वाचनमा पनि उक्त क्षेत्रमा कांग्रेसले नै जितेको थियो । उक्त निर्वाचनमा एमालेबाट उम्मेदवार रहनुभएकी विद्यादेवी भण्डारीले नेपाली कांग्रेसकी सुप्रभा घिमिरेसँग पराजय भोग्नुपरेको थियो । तर विसं २०७० को निर्वाचनमा कांग्रेसले गगन थापालाई उम्मेदवार बनाएपछि सुप्रभा घिमिरेले कांग्रेस परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । कांग्रेसभित्रै बागी उम्मेदवारका बाबजुद पनि थापाले उक्त निर्वाचन जितेका थिए ।

अरु को–को छन् उम्मेद्वार ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका डा ठाकुरमोहन श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका रमेश डङ्गोल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भानुकुमार खड्का, मौलिक जरोकिलो पार्टीका नुमनाथ प्याकुरेल र हाम्रो नेपाली पार्टीका अर्चनशम्शेर राणा पनि क्षेत्र नं ४ को चुनावी मैदानमा हुनुहुन्छ ।

त्यस्तै पुनर्जागरण पार्टीका श्यामबाबु गौतम, नेपालका लागि नेपाली पार्टीका दीपककुमार पोखरेल, मितेरी पार्टी नेपालका राजेश भारती, नेकपा (माले)का लीलामाया पौडेल र मङ्गोल नेशनल अर्गनाइजेशनका लालकुमारी थापा राना पनि उम्मेदवार हुनुहुन्छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पिकेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीका चेतबहादुर आले, एकीकृत शक्ति नेपालका नवराज भण्डारी, आमूल परिवर्तन मसिहा पार्टी नेपालका ध्रुवराज गिरी र जनसमाजवाद पार्टीका खुरहरि पुडासैनीको पनि उम्मेदवारी छ ।

क्षेत्र नं ४ मा १४ जना स्वतन्त्र उम्मेदवार छन् । अर्जुनकुमार प्रसाईँ, काजीबहादुर कार्की, कृष्णकुमार तामाङ, थर्कबहादुर बस्नेत, दिनेश चौलागाईँ, नवराज थापा, महेश्वर केसी, रवीन्द्रदेव ढकाल, रुद्रप्रसाद पौडेल, रोशन बर्मा, रोहित डङ्गोल, शिवेन्द्र केसी, श्यामराज भेटवाल र हेमबहादुर बोम्जन स्वतन्त्र उम्मेदवार छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *