प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा सिटौला नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको २८०औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन । बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त हुनुभएका उनलाई पुष २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गर्नुभएका अध्यक्षले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगाल्नुभएको छ । अध्यक्ष नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त हुनुभएको थियो । उनले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्नुभएको थियो । उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान वहाँको विशेष योगदान रहेको थियो । उक्त अवधिमा नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही कार्य गर्नु भएको थियो ।
















