अमेरिकाको विद्यालयमा २८ वर्षीय ‘ट्रान्सजेन्डर’ले गरेको गोलीबारीमा ६ जनाको मृत्यु
काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेनसी राज्यको न्यासभिलस्थित एक विद्यालयमा भएको गोलीबारीमा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । गोली चलाउने २८ वर्षीय ट्रान्सजेन्डर लिंग परिवर्तन गरेको व्यक्ति भएको प्रहरीले जनाएको छ । अड्रे हेल रूपमा पहिचान खुलेका आक्रमणकारीको पनि प्रहरी कारबाहीमा ज्यान गएको छ । उनी कुनै समयमा सोही विद्यालयको विद्यार्थी भएको प्रहरीको विश्वास छ । प्रहरीले उनको साथबाट गोलीबारी गर्ने उद्देश्यले पहिले नै तयार पारेको योजनासहितको कागजात र विद्यालय प्रवेशको नक्सा समेत फेला पारेको छ । विद्यालयको ढोकामा गोली हानेर उनी प्रवेश गरेको देखिएको छ । उनीसँग दुई आक्रमण शैलीको हतियार र एउटा पेस्टोल थिए । तीमध्ये दुई कानुनी रूपमै खरिद गरेको हुन सक्ने ठानिएको छ । गोलीबारी भएको न्यासभिलको कोभेन्ट स्कुल तीनदेखि ११ वर्षका बालबालिकाका लागि सञ्चालित एक निजी क्रिस्चियन विद्यालय हो । अमेरिकामा सन् २०२३ को मार्चसम्म १३० भन्दा बढी सामूहिक हत्याका घटना भएका छन् । गत वर्षका ३६५ दिनमा अमेरिकामा ६४७ सामूहिक हत्याका घटना भएका थिए । अमेरिकामा संघीय र राज्य कानुनानुसार सजिलै बन्दुक किन्न पाइन्छ । बीबीसीबाट ।