मिटरब्याजको पीडा– लिएको ३५ लाख, डेढ करोड तिरिसकियो, धितो जग्गा साहुसँगै


काठमाडौं । महोत्तरीबाट ११ दिन हिँडेर मिटरब्याज पीडितहरू संघीय राजधानी काठमाडौंमा आइपुगेका छन् । उनीहरू मिटरब्याजमा ऋण दिने साहुको ज्यादती सहन नसकेर काठमाडौंमा संघीय सरकारको ध्यानाकर्षण गराउन आएका हुन् । ऋण लिँदा घरजग्गा सबै पास गर्न लगाउने र त्यो घरजग्गा साहुले फिर्ता नदिने गरेको पीडितको गुनासो छ । सिरहाबाट काठमाडौंसम्म हिँड्दै आएका सूर्यनारायण मुखियाले रामसेवक यादवबाट ३५ लाख रुपैयाँ ऋण लिएको सुनाउँछन् । उनले लिएको ऋणभन्दा चार गुणा बढी पैसा तिर्दा पनि साहुले उसको जग्गा फिर्ता नदिएको उनको गुनासो छ । मैले विभिन्न समयमा घर बनाउन र बिरामी परेर उपचार गर्न ऋण लिएको थिएँ । तर, त्यो ऋण मैले चुक्ता गरेको छु । मैले मेरो जग्गा फिर्ता पाएको छैन, उनले भने, जग्गा साहुले अर्कैलाई बेचिसकेको छ । तमसुक र मेरो लालपुर्जा उसँग नै छ । फिर्ता माग्दा धम्क्याउँछ । जिल्ला प्रशासन कार्यालयले पनि हाम्रो कुरा सुन्दैन । मैले पैसा तिरेको भौचर पनि साथमा नै छ । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न भन्दै समिति पनि गठन गरेको थियो । त्यो समितिले मिटरब्याजसम्बन्धी निवेदन दिन पनि भनेको थियो । तर, पावर र पहुँचको भरमा यस्ता मिटरब्याजीहरू कारबाहीमा नपरेको हुँदा आफूहरु हिँडेर आउन बाध्य भएको उनीहरुको प्रतिक्रिया छ । खुला आकाशमुनि रात बिताएका उनीहरु बिहानै बालुवाटारतर्फ अघि बढे । अझै पनि शक्तिको आडमा ऋणीलाई तर्साइरहेको बताउँछन् । कति पीडित त बालबच्चा बोकेर काठमाडौंमा आएका छन् । उनीहरूको माग छ, मिटरब्याजीलाई कारबाही, तमसुकसम्बन्धी व्यवस्था खारेज, झुटामुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा र मिटरब्याजीको सम्पत्ति छानविन । यदी आफूहरूका यी माग सम्बोधन नभए काठमाडौं छोडेर नजाने उनीहरूको प्रतिबद्धता छ । गृह मन्त्रालयको एक प्रतिवेदनले पनि मिटरब्याजीहरूले झुटा कागज बनाएर पीडितलाई फसाउने गरेको निष्कर्ष निकालेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *