क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी हो ः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी भएको बताएको छ । सोमबार पाँचौ पटक सूचना जारी गर्दै राष्ट्र बैंकले बिटकोइन, क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड गैरकानुनी भएको बताएको हो । राष्ट्र बैंकले यसअघि यस विषयमा मिति २०७४।०४।२९, २०७८।०५।२४, २०७८।१०।०९ र २०७९।०४।३० मा सार्वजनिक सूचनाहरू प्रकाशन गरेको थियो । नेपालमा यसले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राहय नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, राष्ट्र बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको सूचनामा भनिएको छ ।यस्ता कारोबार विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको राष्ट्र बैंक बताउँछ । राष्ट्र बैंकले यस्ता कारोबार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।