जवाफदेही र जिम्मेवार बनाउने परम्पराको सुरुआत गर्न अर्थमन्त्रीको भन्सार कर्मचारीलाई निर्देशन
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफदेही र जिम्मेवार बनाउने परम्पराको सुरुआत गर्न भन्सार कर्मचारीलाई निर्देशन दिएका छन् । भन्सार विभागले सोमबार आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा उनले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिए ।
‘आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरू के हुन् तपाईंहरुलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, म यहाँहरूलाई त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु,’ महतले भने ।
अर्थ मन्त्रालय पारदर्शी ढंगबाट काम गर्न लागिपरेको उल्लेख गर्दै उनले जिम्मेवार पदाधिकारीलाई गम्भीर भएर काम गर्न निर्देशित गरे । ‘जवाफदेही र जिम्मेवार बनाउने परम्पराको हामी सुरुआत गरौँ’, उनले भने । धेरै कारणबाट राजस्व घटेको र राजस्व घट्नुमा भन्सारको सम्पूर्ण दोष नरहेको भन्दै उनले राजस्व चुहावट रोक्न सुरक्षा निकायसँग पनि गम्भीर छलफल गरिएको बताए ।
भैरहवा, वीरगञ्ज, रसुवा नाकाबाट राजस्व चुहावट भएको भन्दै यसलाई गम्भीर ढंगबाट लिन आग्रह गरे । साधारण खर्च धान्न नसक्ने गरी आय घट्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उनले अहिलेको अवस्थालाई राजनीतिक नेतृत्वले उच्च महत्त्व दिएको बताए । उद्योगी व्यवसायीलाई अनावश्यक झन्झट, पीरमर्का परिरहेकाप्रति आफूहरू संवेदनशील रहेको भन्दै मन्त्री महतले यस विषयमा भन्सारका अधिकारीहरूले पनि ध्यान दिनुपर्ने बताए ।