मुख्यसचिव बन्न कोइराला, थपलिया र अर्यालले थाले लबिइङ
काठमाडौं । मुख्यसचिवलाई निजामती सेवामा शक्तिशाली र सर्वोच्च पद मानिन्छ । निजामती सेवामा आधा जीवन व्यतित गर्दा पनि सजिलै मुख्यसचिव बन्न सकिन्न । मन्त्रिपरिषदको सदस्य सचिव पनि हुने भएकाले मुख्यसचिव बन्न सचिवहरू दौडधूपमा लाग्ने गरेका छन् ।
मुख्यसचिव बनेपछि राजनीतिक पहुँच बन्ने र त्यसबाट अवकाश भइसकेपछि पनि राजनीतिक नियुक्ति पाइरहने भएकाले यो पदमा आकर्षण देखिएको हो ।हाल मुख्यसचिव शंकरदास वैरागी छन् । उनको कार्यकाल सकिन केही महिनामात्रै बाँकी छ । त्यसैले अहिले वरिष्ठ सचिवहरू दौडधूपमा लागेका हुन् । बैरागीपछि को आउला भन्ने विषयले चर्चा सुरु भएको छ।
मुख्यसचिवको दाबेदारमा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी रामप्रसाद थपलिया, राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइराला र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्याल छन् । यी तीनमध्ये जसले राजनीतिक लबिइङ बनाउन सक्छ उही मुख्यसचिव बन्ने अवस्था छ । प्रधानमन्त्रीले चाहेको व्यक्ति नै मुख्यसचिव हुने गर्छन् । स्रोतका अनुसार अर्थसचिव भइसकेका अर्याल मुख्यसचिव बन्ने दौडमा सबैभन्दा अगाडि देखिएका छन् ।
मुख्यसचिव वैरागीलाई कुनै देशको राजदूत वा संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा पठाएर नयाँ मुख्यसचिव नियुक्त गर्ने तयारी बालुवाटारले गरेको स्रोतले बताएको छ । वैरागीको चाहना क्यानडाको राजदूत अथवा यूएनको स्थायी प्रतिनिधि रहेको बताइन्छ । स्रोतका अनुसार आगामी वैशाख वा जेठसम्ममा बैरागीलाई राजदूत नियुक्त भए जेष्ठताका आधारमा तीनजना सचिवहरू अर्याल, कोइराला र थपलियामध्ये एकजना मुख्यसचिवको प्रमुख दाबेदार हुनेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्यालको विषयमा कुराकानी गरेको बुझिएको छ ।