परराष्ट्र मन्त्रालय खाली राखेरै भारत भ्रमणमा जाने गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको तयारीमा लागेका छन्। उनले आफ्नो भारत भ्रमणको तयारी थाल्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।
यतिबेला परराष्ट्र मन्त्रालय खाली छ । सत्ता समीकरणमा परराष्ट्र नेपाली कांग्रेसको भागमा परेको छ । कांग्रेसल आठवटा मन्त्रालय पाएकोमा चारजना मन्त्रीले मात्र शपथ लिएका छन् । बाँकी चार मन्त्रालय खाली छ । अहिले परराष्ट्र, शिक्षा, स्वास्थ्य, कानुन, युवा तथा खेलकुद, खानेपानी मन्त्रालय प्रधानमन्त्री आफैंले हेरिरहेका छन् । कांग्रेसभित्रको आन्तरिक किचलोका कारण परराष्ट्र मन्त्रालयले नेतृत्व पाउन नसकेको हो ।
प्रचण्डको भारत भ्रमणको मिति तय भइसकेको छैन । उनले वैशाख पहिलो वा दोस्रो साता भारत भ्रमण गर्ने मनशाय राखेका छन् । र, सोही समयमा भ्रमण गराउन भारतलाई सन्देश पठाइसकेका छन् । स्रोतका अनुसार भारतले अहिलेसम्म प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे केही बोलेको छैन । नयाँ दिल्लीमा समेत यसबारे केही चर्चा नभएको बुझिएको छ । तर प्रचण्ड भने पहिले भारतकै भ्रमणमा जाने तयारीमा लागेका छन् ।
परराष्ट्र मन्त्रालय आफैंसँग रहेका बेला भारतको औपचारिक भ्रमण गर्न प्रचण्डले किन खोजिरहेका छन् भन्नेमा सत्तारुढ दल कांग्रेसका नेताहरूसमेत अनभिज्ञ छन् । कुनै पनि देशको प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा परराष्ट्र मन्त्रालय महत्वपूर्ण मानिन्छ । प्रधानमन्त्रीको भ्रमण सफल पार्ने, देशका एजेन्डा तय पार्ने, द्विपक्षीय विकास र आर्थिक सहयोग आदानप्रदानका विषयसमेत परराष्ट्रमन्त्रीकै पहलमा हुने गर्छ । दुवै देशका परराष्ट्रमन्त्रीले तयार पारेको सम्झौतामा प्रधानमन्त्रीले हस्ताक्षर गर्ने प्रचलन छ । तर प्रचण्ड परराष्ट्रविनै किन जान खोजिरहेका छन् भन्ने अर्थपूर्ण रहेको बताइन्छ ।
नेपाली कांग्रेसले चार मन्त्रीमा कसलाई पठाउने भन्ने निर्णय गरिसकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले इतर पक्षलाई दुईवटा मन्त्रालय मात्र दिने भएपछि शेखर कोइराला–गगन थापा समूहले मन्त्रीको नाम नपठाएको हो । यस विषयमा कांग्रेसमा घनीभूत छलफलसमेत भएको छैन ।