चितवनमा कांग्रेसको नियति, रेनु दाहालले जितिरहने, कांग्रेस उम्मेदवार हारिरहने
काठमाडौं । नेपाली कांग्रेस अब चितवनबाट मासिने खतरा बढेको छ । मंसिर ४ को आमनिर्वाचन र वैशाख १० गतेको उपनिर्वाचनको परिणामले कांग्रेस अब चितवनमा बलियो शक्ति रहेन ।
कांग्रेसको परम्परागत भोट बैंक अब अन्तै सरेको छ ।चितवनमा कांग्रेस मास्ने बीजारोपण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसले समर्थन गर्नु नै रहेको प्रमाणित भएको छ । रेनुले मगत वर्ष वैशाखमा भएको निर्वाचनमा पनि भरतपुरको मेयर जितिन् । तर कांग्रेस भने हारिरहेको छ । रेनुले २०७४ मा पाएको मतभन्दा बढी ल्याएर मेयरमा चुनाव जितिन् । तर त्यही भरतपुर महानगरपालिकामा कांग्रेसको मत निरन्तर घटिरहेको छ ।
भरतपुर महानगरको १२ वटा वडा चितवन क्षेत्र नम्बर २ मा पर्छ । तर प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका उम्मेदवारले वडाबाट मत नै पाउन सकेका छैनन् । अझ मंसिरको निर्वाचनमा उमेश श्रेष्ठले ल्याएको जति मत पनि अहिले जितनारायण श्रेष्ठले ल्याउन सकेनन् । भरतपुर महानगरका प्रत्येक वडामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई हजारदेखि ६ हजार मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण तीन–चार सयमै सीमित हुनु भनेको अर्को स्थानीय तह वा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको अवस्था जमानत जफत हुनु हो ।
जबदेखि कांग्रेस माओवादीसँग गठबन्धन गरेर चुनावमा गयो, त्यसबेलादेखि कांग्रेसको अद्योपतन जारी छ । यो कहाँ पुगेर रोकिने हो कसैलाई थाहा छैन । भरतपुरमै ४० हजारभन्दा बढी मत ल्याएर रेनु दाहालले मेयरमा चुनाव जित्ने तर कांग्रेसले भने पाँच हजार पनि मत पाउने अवस्था नहुनु भनेको लाजमर्दो अवस्था हो । चितवनमा माओवादीसँग गठबन्धन गरेकाले रुखमा भोट हाल्न पाइनँ भनेर बागी उम्मेदवारी दिने जगन्नाथ पौडेल आज रवि लामिछानेकै कार्यकर्ता बनेर हिँडेका छन् ।
धन्न कांग्रेसले दिनेश कोइराला, विकास कोइरालालगायतका नेताहरूमाथि गरेको कारबाही फिर्ता लिएको छ । तर अब कांग्रेसले अरुसँग गठबन्धन गरेर होइन, आफैं भित्र सुधार गरेर क्षमता भएका र युवालाई अवसर गर्न ढिलाइ गर्नु हुन्न सन्देश अहिलेको उपनिर्वाचनको नतिजाले दिएको छ । नत्र फेरि गठबन्धनको नाममा अर्कोपल्ट पनि रेनु दाहालहरू मेयरमा उठ्ने अवस्था आउने छ ।