रवि भन्छन्– कँडेलको आत्महत्याले चितवनले एउटा असल मानिस गुमाएको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष शंकर कँडेलको आत्महत्याले जिल्लाले एउटा असल मानिस र सफल व्यवसायी गुमाएको बताएका छन् ।
उनले यो प्रकरणलाई आफूले नजिकबाट नियालिरहेको बताएका छन् । रविले यो घटनामा राजनीतिक रंग नपोतियोस् भनेर आफू सचेत रहेको बताउँदै जिम्मेवार जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेको उल्लेख गरेका छन् ।
उनले कँडेलको आत्महत्या प्रकरणमा प्रहरी प्रशासनलाई अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको समेत जानकारी दिएका छन् । ‘चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा म परिवारसँग निरन्तर संवादमा छु, प्रशासनसँग निरन्तर समन्वयमा छु । अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको छु, घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु ।
म सत्य, न्याय र पीडितको पक्षमा छु,’ रविले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु। आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयम पुर्वक सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेको छु। म जिम्मेवार जनप्रतिनिधिको भूमिका निरन्तर निर्वाह गरिरहेको छु।
चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुःखी छु।’ पोल्ट्री व्यवसायीसमेत रहेका कँडेलले केही दिनअघि आत्महत्या गरेका थिए । उनको शव आफ्नै अफिसको कोठामा फेला परेको थियो । व्यवसायमा साझेदारले पैसा नदिएपछि तनावमा परेका उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।