एमाले केन्द्रीय कमिटी बैठक अब झापामा होइन काठमाडौंमै बस्ने
काठमाडौं । एमालेले आगामी वैशाख २८–३० गतेसम्म झापामा हुने केन्द्रीय कमिटीको बैठक काठमाडौंमा सारेको छ । परिवर्तित राजनीतिक अवस्थाका कारण एमालेले आइतबार झापामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक सोही मितिमा काठमाडौंमा हुने जनाएको छ ।
एमालेले झापामा हुने भनिएको केन्द्रीय कमिटी बैठक विशेष कारणवश काठमाडौंमा हुने जानकारी दिएको छ । पार्टीका सचिव टोपबहादुर रायमाझीसहित अन्य नेताहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले केन्द्रीय कमिटी बैठक काठमाडौंमै हुने निर्णय गरेको हो । यसअघि झापामा हुने भनेर सम्पूर्ण तयारी गरिएको थियो ।
आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले झापामा हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गरी त्यही मितिमा काठमाडौंमा गर्ने जानकारी दिएका थिए ।
एमालेले दुई महिने ग्रासरुट अभियानको सुझावअनुसार काठमाडौं बाहिर पहिलोपल्ट केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो । वैशाख ३० गते केन्द्रीय कमिटी बैठक समापनपछि ३१ गते आमसभा गर्ने एमालेको तयारी थियो । तर एमाले अध्यक्ष काठमाडौंमै बस्नुपर्ने बाध्यता आइलागेपछि केन्द्रीय कमिटी बैठक नै सर्न पुगेको छ ।