नक्कली शरणार्थी प्रकरण : आज पनि पूर्व गृहमन्त्री खाणको बयान लिइने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइने भएको छ ।

मानब बेचविखान जस्तो जघन्य अपराधमा संलग्न रहेका खाँणलाई प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेर प्रहरी अनुसन्धान परिसर काठमाडौँ टेकुको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सोमबार पनि अनुसन्धान नसकिएले आज पनि सरकारी वकिल कार्यलयले उनको बयान लिने भएको हो ।

सो प्रकरणमा मुछिए पनि खाणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागेपछि सोमवारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।


सोही प्रकरणमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ५० लाख रुपैयाँ दिएको बयान दिएका छन् ।

साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिदैँ आएका छन् । सोही प्रकरणमा नेकपा एमालेका निलम्बित सचिव एवम पूर्व उपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार बुढानिलकण्ठबाट पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *