रेशम राजनीतिमा फर्किने आशा समाप्त, कारगारमै बोलाए बैठक
काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको राजनीतिक भविष्य समाप्त भएको छ । अब उनले आफूविरुद्ध सुनाइएको सजाय पूरै काट्नुपर्ने भएको छ ।
सरकारले उनको मुद्दा फिर्ता लिन विधेयक संसदमा ल्याएकै समयमा सर्वोच्चले जिल्ला र उच्च अदालत दिपायलको जन्मकैदको फैसला सदर गरेको हो । यद्यपि सर्वोच्चको फैसलाविरुद्ध पुनरावेदनमा जान उनलाई अझै एक मौका बाँकी छ ।
पुनरावेदनमा जाने कि नजाने भन्ने निर्णय उनले लिइसकेका छैनन् । सर्वोच्चले जन्मकैदको फैसला सदर नगर्नेमा रेशम विश्वस्त थिए । तर संविधानको प्रतिकूल हुने गरी सर्वोच्चबाट फैसला आउन सक्ने कुरै भएन । सर्वोच्चको निर्णयप्रति नागरिक उन्मुक्ति असन्तुष्ट बनेको छ । त्यसैले अब कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् ।
रेशम र नेताहरुबीचको भेटमा सर्वोच्चको फैसला सम्बन्धमा, संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । नागरिक उन्मुक्ति केन्द्र र प्रदेश सरकारमा रहेको छ । रेशमकी पत्नी रञ्जिता श्रेष्ठ भूमिव्यवस्था मन्त्री छिन् । रेशमलाई छुटाउन नसकेको भन्दै नागरिक उन्मुक्ति पार्टीका केही नेताले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउन थालेका छन् । तर, यस्तो निर्णय लिने सम्भावना नरहेको बुझिएको छ ।