२४ घन्टामा खोटाङको दिक्तेलमा २०५ मिलिमिटर वर्षा
काठमाडौं । नेपालमा सामान्यतया जुन १० तारिखदेखि मनसुन भित्रिन्छ । र, सेप्टेम्बर २५ पछि मनसुनको समय सकिन्छ । यो वर्ष मनसुन सामान्य गरी केही ढिला भित्रिने भएको छ । मनसुनको चार महिनाको अवधिमा यसपटक कम पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।
तर, मनसुन नभित्रिँदै मुसलधारे वर्षा सुरु हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान पौने ९ बजेदेखि सोमबार बिहान पौने ९ बजेसम्मको २४ घन्टाको अवधिमा खोटाङको दिक्तेल केन्द्रमा २०५ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । मानव सञ्चालित ८१ र स्वचालित १८४० मा मापन गरिएको २४ घण्टाको वर्षाको विवरणअनुसार १२५ वटा केन्द्रहरुमा वर्षा भएको विभागले जनाएको छ ।
वर्षा मापन गरिएका केन्द्रहरुमध्ये ६३ वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी, ३७ वटा केन्द्रमा २५ मिलिमिटरभन्दा बढी, १३ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, दुईवटा केन्द्रमा १०० मिलिमिटरन्दा बढी बढी वर्षा भएको छ।