मेसीले भने- २०२६ को विश्वकप खेल्दिन

काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि हाल चीनमा रहेका अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले सन् २०२६ को विश्वकप नखेल्ने बताएका छन् ।

मेसीले एउटा चिनियाँ पत्रिकाले सन् २०२६ को विश्वकप खेल्ने हो ? भन्दै सोधेको प्रश्नको जवाफ दिने क्रममा २०२६ को विश्वकप नखेल्ने बताएका हुन् । उनले जवाफ दिदै भनेका छन्- ‘मलाई त्यस्तो लाग्दैन । मेरो अन्तिम विश्वकप २०२२ को थियो । म अर्को विश्वकपमा जाने छैन ।’

मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फिफा विश्वकप २०२२ मा च्याम्पियन बनाएका थिए । मेसीले अगाडी भने- ‘विश्वकप जितिसकेपछि जुन मैले कमि महसुस गरिरहेको थिए, त्यो पुरा भएको छ, अहिले म आफ्नो करियरबाट सन्तुष्ट छु । म अर्को विश्वकप हेर्न चाहन्छु, तर म यसमा भाग लिने छैन ।’

मेसीले आफ्नो करियरमा पाँच पटक विश्वकप खेलेका छन् । सन् २०२२ मा भएको विश्वकप मेसीको करियरको पाँचौं विश्वकप थियो । यसअघि उनले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा पनि भाग लिएका थिए । ३५ वर्षीय मेसीले पाँच विश्वकपमा २६ खेल खेलेका छन्, जसमा १३ गोल गरेका छन् ।

मेसीले अर्जेन्टिनाका लागि १७४ खेलमा १०२ गोल गरेका छन् र उनी अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ता हुन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पनि मेसी तेस्रो स्थानमा छन् । सक्रिय खेलाडीमध्ये गोल गर्ने हिसाबले उनी दोस्रो स्थानमा छन् । यस सूचीमा पहिलो स्थानमा १२२ गोल गर्दै क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

बेइजिङको वर्कर्स स्टेडियममा अस्ट्रेलिया र अर्जेन्टिनाबीच हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि मेसी चीन पुगेका छन् । अर्जेन्टिना र अष्ट्रेलिया १५ जुन २०२३ मा वर्कर्समा यो खेल हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *