मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान पुगेका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताए ।
प्रधानमन्त्री दाहालले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको बताए । सो क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए । उनले आयोजनालाई नियमित र व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि पूर्ण सहयोग हुनुपर्ने बताए । गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आएका छन् । उनका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची पुगेका हुन् । विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो ।