बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड संखुवासभा जाँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न संखुवासभा जाने भएका छन् । प्रधानमन्त्रीसँगै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि संखुवासभा जाने भएका हुन् ।
शनिबार राती आएको अविरल वर्षाका कारण संखुवासभाको हेँवा खोलामा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने हाइड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका छन् ।
बाढीले चैनपुर–४ दोभानेमा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोपावरमा क्षति पुग्नुका साथै त्यहाँ काम गर्ने १७ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकाको बीचमा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो।