अर्थमन्त्री डा.महत : आम उपभेक्तालाई मारमा पार्न आलु र प्याजमा भ्याट लगाइएको होइन
विराटनगर । अर्थमन्त्री डा प्रकाशशरण महतले आम उपभेक्तालाई मारमा पार्न आलु र प्याजमा भ्याट नलगाइएको बताएका छन् ।
सोमबार मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन् । उनले आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवर्द्धन होस् भनेर आयातित आलु र प्याजमा मात्र भ्याट लगाइएको बताए ।
‘हामी कृषि प्रधान देश भन्छौं, आलु र प्याज यति अर्बको आयात गर्ने, आलु र प्याज यहाँ उत्पादन गर्न नसक्ने जमिन बाँझो छाड्ने विदेशबाट किनेर मात्रै खाने रु भन्ने बहसलाई मध्यनजर राखेर आलु र प्याजमा कर लगाएका हौं । आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन । यो भन्सार दरले किसानका धेरै संगठनले स्वागत गरेका छन् । आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन,’ अर्थमन्त्री महतले भने ।
नेपालको अर्थतन्त्रमा समस्या रहेको स्वीकार गर्दै उनले पूँजीगत खर्च कम भइरहेको बताए । साधारण खर्च घटाउन नसकिएको उनको भनाइ छ । यसो हुनुमा सामाजिक सुरक्षा र दायित्वको भूमिका रहेको उनले बताए । विगतमा विभिन्न किसिमका सहुलियत, भत्तामा प्रतिस्पर्धा भएको तर अर्थतन्त्रले कति धान्न सक्छ भन्नेमा ध्यान नदिइएको उनको भनाइ छ ।
पूँजीगत खर्च २ खर्ब मात्र विनियोजन भएको प्रसंगमा अर्थमन्त्री महतले ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्च कम हुन पुगेको बताए । भूकम्पको बेला लिएको ऋण तिर्ने बेला भएको भन्दै उनले साधारण खर्च धेरै घटाउन नसक्ने, ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्चमा दबाब आएको बताए । चालु आवको अन्त्यमा ब्याजदरमा सुधार हुने भन्दै उनले पूँजीगत खर्च र मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउने बताए ।
पूर्व–पश्चिम राजमार्गमा धेरै स्रोत परिचालन भएको तर यति धेरै खर्चलाई ‘हाम्रो ठाउँमा खर्च भएको’ मान्न कोही तयार नहुने उनको गुनासो छ । ‘मेरो गाउँमा, मेरो नगर र वडामा कति बजेट आयो, त्यसको मात्र हिसाब किताब हुन्छ । हाम्रा सांसदहरुको प्रश्न पनि त्यसैमा केन्द्रित रहन्छ,’ मन्त्री डा. महतले भने ।