काठमाडौँ महानगरका ३९ विद्यालय बुझाएनन् छात्रवृत्ति विवरण

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएका छन् ।

महानगरले दिएको समय सीमाभित्र ३९ विद्यालयले छात्रवृत्ति विवरण नबुझाएको काठमाडौँ महानगरका मेयर बालेन शाहले जानकारी दिएका हुन् ।

महानगरका मेयर बालेन शाहले यस बारेमा जानकारी दिदै महानगरको इतिहासमा पहिलो यति ठुलो संख्यामा छात्रवृति दिइएको बताएका छन् ।

यसबाट लक्षित वर्गका १३ हजार भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको बालेनले बताएका छन् । उनले प्राप्त विवरणमाथि निरीक्षण गरी सो को विस्तृत सूची प्रकाशित गरिने बताएका छन् ।

साथै उनले हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने बताएका छन् । त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने मेयर बालेनले उल्लेख गरेका छन् ।

विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका छन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ भन्दै उनले कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *