आरजु देउवा र सिटौलालाई पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिएको खबर झुटो : गृह मन्त्रालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु देउवा र नेता कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन भन्ने समाचार झुटो भएको पाइएको छ ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति खण्डन गरेको हो । ‘आर्थिक राष्ट्रिय दैनिकको मिति २०८० असार ११ गते प्रथम पृष्ठमा प्रकाशित नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ शीर्षक समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालय उक्त झूठो, निराधार र भ्रमपूर्ण समाचारको खण्डन गर्दछ । गृहमन्त्रीले कुनै व्यक्तिलक्षित निर्देशन दिएको कुरा भन्ने कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको व्यहोरा अवगत गराउँछु।’

समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न त्यस्तो प्रयास गरिएको मन्त्रालयको भनाइ छ । शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अध्ययन थालेको छ । तर अहिलेसम्म कांग्रेस नेतृ देउवा र नेता सिटौला मुछिएको कुनै प्रमाण फेला परेको छैन । तर, गृहमन्त्री श्रेष्ठले प्रहरीलाई निर्देशन दिएको हवालाको समाचार आएपछि सोमबार दिनभर नेपालको राजनीतिमा तरंग सिर्जना भएको छ ।

कांग्रेसको नेतृत्वमाथि नै प्रहार गर्ने किसिमले समाचार प्रवाह भएको सबैले अनुमान गरेका छन् । त्यसमाथि गृह मन्त्रालयको विज्ञप्तिले समाचार झुटो भएको प्रमाणित गरेको छ । कांग्रेसको नेतृत्वमाथि योजनाबद्ध ढंगले आक्रमण भएको भन्दै नेता कार्यकर्तामा चिन्ता थपिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *