भीम रावल कहिलेसम्म एमालेमा ‘पेण्डुलम’ बन्ने ?
काठमाडौं । एमालेको दशौं महाधिवेशन सकिएको झन्डै दुई वर्ष हुन लागिसक्यो । तर एमालेले भीम रावललाई अहिलेसम्म कुनै भूमिका र जिम्मेवारी दिएको छैन । केपी ओलीसँग अध्यक्षमा उम्मेदवारी दिएको रिसमा रावलको राजनीतिक करियर नै सिध्याउन लागिएको हो ।
आफूले चालीस वर्षदेखि राजनीति गरेको पार्टी भनेरै रावलले अहिलेसम्म अन्य पार्टीमा जाने, नयाँ पार्टी खोल्न चाहेका छैनन् । त्यसको फाइदा उठाउँदै एमाले नेतृत्वले रावललाई भूमिकाविहीन बनाउँदै आएको छ । रावललाई आफ्नो दलमा आउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निकै आग्रह गरिरहेका छन् । रावलसँगै भूमिकाविहीन बनाइएपछि घनश्याम भुसाललाई माधवले पार्टीमा प्रवेश गराएर महासचिवको जिम्मेवारी दिइसकेका छन् । तर रावल भने यताउता भड्केर हिँडेका छन् ।
केही दिनअघि माओवादी, एकीकृत समाजवादी, जसपा, विप्लव नेकपा मिलेर समाजवादी मोर्चा गठन गरे । रावललाई मोर्चामा आउन निकै आग्रह गरिएको थियो । तर एमाले अध्यक्ष ओलीले रावललाई इन्गेज गराउन संवाद चलाएका थिए । जसरी वामदेव गौतमलाई इन्गेज गराएर मोर्चामा जान रोकिएको थियो, रावललाई पनि त्यसरी नै रोकिएको पाइएको छ ।
रावलले पटक–पटक अन्य पार्टीमा नजाने बताइरहे पनि एमाले नेतृत्व रावल एकीकृत समाजवादीमा जान्छन् भन्ने त्रासमा छ । त्यसैले उनलाई अनेक तरिकाले अल्झाउने रणनीति लिइएको एमाले स्रोत बताउँछ । नेकपाकाल र १० बुँदे सहमतिपछि पनि एमाले अध्यक्ष ओलीका क्रियाकलापको खरो आलोचना गर्दै आएका उनलाई लामो समयदेखि पार्टीको जिम्मेवारीभन्दा बाहिर राखिएको छ ।
उनलाई ओलीविरुद्ध चितवन महाधिवेशनमै लडेकै कारण जिल्लाबाट एकल नाम सिफारिस हुँदा पनि अछाम १ को उम्मेदवार बन्नबाट ओलीले रोकेका थिए । यो बीचमा चैत १८ गते शनिवार एमालेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा उनीसँग कुरा गर्न वार्ता टोली बनाएको थियो । सुदूरपश्चिमेली नेताहरू लेखराज भट्ट र कर्ण थापासमेत सदस्य रहेको सो टोलीले वैशाख ३ गते आइतबार पार्टी कार्यालयमै रावलसित छलफल गरेको र जिम्मेवारी दिने प्रक्रिया थालिएकोसमेत भनिएको थियो ।
ओली र रावलको भेट गराउने कुरा पनि थियो । तर ओलीले रावलसित भेट्न चासो नदेखाएपछि जिम्मेवारीमा फर्काउने प्रयास असफल छ । रावललाई समेट्नका लागि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दयालबहादुर शाही र केन्द्रीय पर्यटन विभागका सदस्य रमेश कुँवरले ओलीलाई पटकपटक भेटेको चर्चा पनि छ ।