मिटरब्याज सम्बन्धी विधेयक पास गर्न नेकपा एमालेले सहयोग गर्ने

काठमाडौं । नेकपा एमालेले मिटरव्याजीलाई कारबाही गर्ने विधेयक पास गर्न सहयोग गर्ने भएको छ ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा एमालेले विधेयक पास गर्न सहयोग गर्ने एमाले संसदीय दलका उपनेता समेत रहेका नेता सुवास नेम्वाङले जानकारी दिए ।

शनिबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले मिटरव्याजबारे सरकारले ‘आफूले काँक्रो चोरेर बियाँ अरूको गालामा टाँसिदिने’ सरकारको यस छलकपट र द्वैध भूमिकाको पार्टी भर्त्सना गरेको थियो । साथै, बैठकले सरकारकै कारण प्रतिस्थापन विधेयक निष्क्रिय भइसकेको परिप्रेक्ष्यमा अविलम्ब नयाँ विधेयक ल्याउन पार्टी सरकारको ध्यानाकर्षण गराएको थियो ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा शनिबार बैठक बसिरहेका बेला एमाले उपाध्यक्ष नेम्वाङले सभामुख देवराज घिमिरे, कांग्रेसका नेताहरू र कानुनमन्त्री धनराज गुरुङलाई भेटेर उक्त विधेयक अघि बढाउन सुझाव दिएका थिए । सोही सहमतिअनुसार एमालेले सो विधेयक पारित गर्न सहयोग गर्ने भएको हो ।

‘यो विधेयक ल्याउनुपर्छ भनेर हामीले पहिलेदेखि नै भनेका हौ । तर सरकारले यसमा सारै ठुलो हेलचेक्राई गर्‍यो । प्रक्रियामा पनि हेलचेक्राई नै गर्‍यो तर जे भए पनि हामी यसलाई अड्काउने पक्षमा कहिल्यै छैनौ’, नेम्वाङको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *