पाकिस्तानमा रेल दुर्घटना हुँदा पन्ध्र जनाको मृत्यु
काठमाडौं । दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा ४५ जना घाइते भएका छन् ।
कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहती भएको रेलमन्त्री ख्वाजा साद रफिकले पत्रकारलाई बताए ।
उद्धार टोलीहरू घटना स्थलमा पुगेका तथा थप टोलीलाई घटना स्थलमा परिचालन गरिएको उनले जानकारी दिए ।
दुर्घटनाग्रस्त रेलका आठ डिब्बा पटरीबाट खसेका रेलवेका अधिकारी मोहसिन सियालले बताए । प्रान्तीय रेलवे अधिकारी इजाज शाहले यात्रीलाई गन्तव्यसम्म पुर्याउन अर्को रेल पठाइएको छ ।
सन् २०२१ को जुनमा सिन्धको डहरकी नजिक दुई वटा रेल आपसमा ठोक्किँदा ६५ जनाले ज्यान गुमाएका थिए । घटनामा एक सय ५० जना घाइते भएका थिए । सन् २०१९ को अक्टोबरमा तेजगाम एक्सप्रेसमा आगलागी हुँदा ७५ यात्रुको ज्यान गएको थियो ।