कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का

वीरगन्ज । आन्तरिक राजस्व कार्यालय वीरगन्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर,देवेन्द्र तेल उद्योग,डेल्टा सेक्युरिटी सर्भिस प्रा.लि., रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रा.लि.,गणपति ट्रेड इन्टरनेसनल,सम्राट ढुवानी सेवा कारबाहीस्वरुप बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए ।

यस्तै पर्साको वीरगञ्जकै पटेल किराना स्टोर्स, बूदर टेक्सटाइल इण्डट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रा.लि., सुशील किराना स्टोर्स/ज्योति मनि चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रा.लि.र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताए ।

प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९/८० मा १४ करोड ३९ लाख बक्यौता संकलन गरिएको छ ।

पटक–पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ’,प्रमुख कर अधिकृत तिवारीले भने,‘त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *