एमाले दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो : झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा पहिरो जाने थालेको बताएका छन् । बुधबार पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।

आफूहरु सही बाटोमा अघि बढ्न सके पार्टी पंक्तिभित्रका भ्रमका बादल फाटेर जाने बताउँदै नेता खनालले भने, ‘अहिले हामी के कुरामा बढी चिन्तित छौं भने हामी सँगसँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता छ । विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन् । तर, हामीले यही मञ्चबाट एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौँ । अब एमालेभित्र पहिरो जाँदैछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले एमालेसँगको मतभिन्तालाई प्रष्टसँग देख्नुपर्ने बताए । उनले एमाले अहिले पनि समाजवादमा जान सकिँदैन भन्ने पक्षमा रहेको जिकिर गरे ।

‘एमालेले अहिले समाजवाद ल्याउँनै सक्दैन भन्छ । समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन । अहिले पनि दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज हुर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन, त्यसले जबज नै लक्ष्य हो भन्छ । त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो’, उनले भने ।

नेता खनालले जबजले कम्युनिष्ट पार्टीको नेतृत्व र मार्क्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने टिप्पणी गरे । उनले आफूहरू समाजवादको बाटोमा रहेको उल्लेख गर्दै भने, ‘समाजवाद आवश्यकताबारे जानकारी गराउन राष्ट्रव्यापी रुपमा अभियान लिएर जाँदैछौँ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *