एमाले बागमती अध्यक्षमा दाहाल र ढुंगेल भिड्ने, गोकुल र महेशबीच प्रतिष्ठाको लडाइँ

काठमाडौं । एमाले बागमती प्रदेशको पहिलो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा एक हजारजना प्रतिनिधि सहभागी हुने बताइएको छ ।

लुम्बिनीपछि एमालेको बागमती प्रदेश अधिवेशनमा दुई नेताबीच प्रतिष्ठाको लडाइँ देखिएको छ । लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

जम्मा दुई मतले पौडेल निकट नेता लुम्बिनी अध्यक्षमा निर्वाचित भएका थिए । अहिले बागमतीमा एमालेका दुई नेताबीच प्रतिष्ठाको लडाइँ भएको छ । उनीहरू हुन् महेश बस्नेत र गोकुल बासकोटा ।

गोकुल र महेश दुवै पार्टी अध्यक्ष केपी ओली निकट नेता हुन् । तर पछिल्लो समय दुवै ओलीसँग सन्तुष्ट छैनन् । उनीहरू पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको नेतृत्वमा ल्याउन चाहन्छन् ।

एमाले बागमती प्रदेशमा चार पाँचजना अध्यक्षका दाबेदार देखिएका छन् । जसमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, नुवाकोटका केशव पाण्डे र काठमाडौंका सानुकुमार श्रेष्ठ मुख्य छन् ।

हुन त दोलखाकी रचना खड्कादेखि काठमाडौंका रामेश्वर फुयाँलसमेत अध्यक्षका आकांक्षी हुन् । तर प्रदेश कमिटीको अध्यक्षमा ढुंगेल र दाहाल भिड्ने निश्चित झैँ भएको छ ।

अर्का प्रत्यासी नुवाकोटका केशव पाण्डेलाई पार्टी अध्यक्ष केपी ओलीले नउठ्न सल्लाह दिएपछि उनले दाबी छाडेको एमालेजनको बुझाई छ ।

आकांक्षी धेरै भएकाले लुम्बिनीको प्रतिस्पर्धाको रोग बामगतीमा पनि दोहोरिने सम्भावना छ । दाहाल गोकुल बासकोटा निकट नेता हुन् । ढुंगेललाई महेश बस्नेतको समर्थन छ ।

अहिले गोकुल र महेशले आफू निकट प्रतिनिधिलाई दाहाल र ढुंगेलको पक्षमा लबिङ गर्न निर्देशन दिइसकेका छन् । प्रदेश कमिटीको अध्यक्ष धेरै पावरफुल हुने भएकाले पनि गोकुल र महेशले प्रतिष्ठाको विषय बनाएको नेताहरूको बुझाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *