बंगलामुखी साकोसको १६औं साधारणसभा
भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारणसभा संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौडयालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सभामा शुभकामना व्यक्त गर्दै उनले समुदाय र सदस्य केन्द्रित सहकारी संस्था सुरक्षित रहेको भन्दै ढुक्क भएर कारोबार गर्न आग्रह गरे । अँध्यारोमा हिँडेका संस्थाहरु जुन सुकै बेलामा पनि खाल्डोमा पर्न सक्छन् तर नेफ्स्कूनको नीति, विधि र प्रविधिलाई आत्मसात गरेका संस्थाहरुको गन्तव्यमा पुग्ने निश्चित रहेको उनको भनाई छ। बंगलामुखी सहकारी नेफ्स्कुनले सञ्चालन गरेको प्रोबेसन कार्यक्रममा आवद्ध रहेकाले हरेक कुराको रणनीति बनाएर अगाडी बढेकाले सुरक्षित रहेको उनले जनाए । आधुनिकतासँगै विश्वमा प्रविधिको प्रयोग बढेकोले सहकारीहरुले अब सदस्यहरुलाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्नेमा उनले जोड दिए । हरेक सदस्यलाई व्यवसायिक बनाउनु पर्ने भन्दै उनले त्यसका लागि सदस्यहरुलाई व्यवसायिक प्रवर्धन केन्द्रमा जोड्न सुझाव दिए । सहकारीले सदस्यलाई धनआर्जनमा सहयोग गर्नु पर्ने र त्यसका लागि आवश्यक सिप, पुँजी र बजारिकरणको व्यवस्था संस्थाहरुले मिलाउनु पर्ने उनको भनाई छ ।
संस्था सुशासनमा मात्र बसेर नपुग्ने भन्दै पौडयालले सदस्यको बचतको सुरक्षा महत्वपूर्ण रहेको धारणा उनले राखे । सहकारीका सदस्य मालिक, नियन्त्रक र संस्थाका क्रियाकलापबाट लाभ लिने व्यक्ति बन्नुपर्ने भन्दै यसका लागि संस्थाको हरेक निर्णयमा सक्रिय सहभागिता जनाउन आग्रह गरे । सहकारीलाई दैनिक जीवनसँग जोड्नु पर्ने र त्यसका लागि ‘साकोस संस्कृति’को विकास गर्नुपर्नेमा उनले जोड दिए। सभामा अध्यक्ष श्रेष्ठले समुदायमा आधारित गुणस्तरिय र प्रविधियुक्त दिगो संस्थाको परिकल्पना गरी सहकारी मुल्य , मान्यता र सिद्धान्तलाई अँगालेर अगाडि बढेको बताए । सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि संस्थाले काम गर्दै आएको सो अवसरमा उनले बताए । संस्थाले सदस्यहरुलाई वित्तीय तथा प्राविधिक साक्षरताको माध्यमबाट सहकारीको महत्व बुझाउने कार्य गर्दै आएको उनले बताए । समुदायमा छरिएर रहेको ससानो पुँजीलाई एकिकृत गरी ऋण लगानीको माध्यमबाट सदस्यहरुको आय आर्जनमा टेवा पुर्याउँदै आएको श्रेष्ठले जनाए । बजारमा केहि सहकारीले गरेको गलत कार्यका कारण सिङ्गो सहकारी अभियानप्रति नकरात्मक सन्देश गएकाले त्यसको पछि नलागी संस्थाको बारेमा केही जान्न बुझ्न कार्यालयमा आउन उनले आग्रह गरे । साधारण सभालाई परिवहन खर्च लिने थलोको रुपमा मात्र नलिई संस्थाले बर्षभरी गरेका गतिविधिका बारेमा छलफल गर्न र यस आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम बनाउन रचनात्मक सल्लाह सुझाव दिन श्रेष्ठले आग्रह गरे ।
संस्थाका सचिव मोहन कृष्ण श्रेष्ठले आर्थिक बर्ष २०७९।८० बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले सदस्य विरामी भई उपचार गर्दा र सदस्यको मृत्यु भएमा निजका आश्रित परिवारलाई जनही १० हजार प्रदान गर्दै आएको उनले बताए । संस्थाले यस आर्थिक बर्षमा अवलोकन भ्रमण, कोप कार्ड सेवा सञ्चालन, सदस्यहरुमा व्यवसायिक सिप विकास तालिम, वित्तीय साक्षरता, कौसी खेती, अचार र डल बनाउने तालिम सञ्चालन गर्ने योजना रहेको उनले सभामा जानकारी दिए । त्यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर, वृक्षारोपण र ज्येष्ठ नागरिक उद्यान निमार्ण गर्ने उनले बताए । संस्थाका कोषाध्यक्ष श्याम प्रधानले आर्थिक बर्ष २०७९।८० आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै गत असार मसान्तसम्म शेयर पुँजी १४ करोड ५१ लाख,बचत संकलन ८७ करोड ४० लाख, जगेडा तथा अन्य कोषमा ४ करोड ८७ लाख गरी कुल सम्पत्ति १ अर्ब २६ करोड ५७ लाख पुगेकोे जानकारी दिए । संस्थाले त्यस अवधिमा १ अर्ब १२ करोड २३ लाख ऋण लगानी गरी १ करोड ९४ लाख नाफा गरेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले सदस्यहरुको विश्वासका कारण बंगलामुखी सूर्यविनायक नगरपालिकाको पहिलो र भक्तपुर जिल्लाकै चौथो नम्बरको संस्था बन्न सकेको बताए । वित्तीय संकटका बीचमा पनि संस्थाको समग्र वित्तीय सुचांकहरु वृद्धि गर्न सकेको उनको भनाई छ । कतिपय सहकारीले सदस्यको बचत फिर्ता गर्न नसकेको अवस्थामा संस्थाले सदस्यहरुको आवश्यकता अनुसार बचत फिर्ता गर्दै आएको उनले जानकारी दिए । संस्थालाई आगामी २ बर्ष भित्र पूर्ण डिजिटल प्रविधिमा लैजाने र सदस्यले नगद जम्मा गर्दा र झिक्दा ई टेलर मार्फत गर्न सक्ने उनको भनाई छ । संस्थाले सञ्चालनमा ल्याएको बंगलामुखीको एपको प्रयोगमा वृद्धि हुदै गएको र दैनिक रुपमा उक्त एपको प्रयोग गरी सदस्यहरुले १० लाखसम्मको कारोबार गर्न थालेको श्रेष्ठको भनाई छ। सभामा विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । संस्थाले साधारण सभाको अवसरमा भक्तपुर रेडक्रस सोसाईटीको प्राविधिक सहयोमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।