प्रतिनिधिसभामा बैंकिङ कसुर र भन्सार विधेयक प्रस्तुत
काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० तथा भन्सार विधेयक २०८० प्रस्तुत गरिएको छ । दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएअनुसार बैंकिङ कसुर तथा सजाय ऐन संशोधन प्रक्रिया अघि बढाइएको हो ।
मौद्रिक नीतिमा वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैरव्यावसायिक तथा उच्छृंखल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैंकिङ कसुर ऐन २०६४ मा समसामयिक संशोधन प्रक्रिया अघि बढाइने उल्लेख छ । बैंक तथा वित्तीय क्षेत्रका कमर्चारीलाई गालीगलौज गर्ने, दुर्व्यवहार गर्ने तथा अराजक गतिवधि गर्ने कार्य बढेपछि त्यसलाई निरुत्साहित गर्न राष्ट्र बैंकले ऐन संशोधनको आवश्यकता महसुस गरेको जनाइएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतले अभियान नै सञ्चालन गरेर केही महिनाअघि बैंक वित्तीय संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने तथा दुर्व्यवहार गर्ने गर्दै आएका थिए । आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कात्तिक १४ गते मंगलबार अपराह्न ४ बजे सम्बोधन गर्नेसम्बन्धी जानकारी गराए । महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपचारिक पोसाकमा उपस्थित हुन पनि उनले सांसदहरुलाई निर्देशन दिए ।