दूषित पानी उत्पादन गर्ने खानेपानी उद्योगप्रति भ्याली बोर्ड आक्रामक, एउटा उद्योग सिल

काठमाडौं । दूषित पानी उत्पादन तथा बिक्री वितरण गर्ने खानेपानी उद्योगप्रति काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्डं) आक्रामक ढंगले प्रस्तुत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र भ्याली बोर्डको टोलीले बुधबार टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरेको छ । भ्याली बोर्ड खानेपानीको नियामक निकाय हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक पद्मराज भुसालका अनुसार उद्योगको भौतिक, पूर्वाधार प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिकाविपरीत रहेका कारण सिलछाप गरी उत्पादन कक्ष बन्द गरिएको छ ।

सेवा प्रदायकको दर्ता प्रमाणपत्र र सञ्चालक फेला नपरेको, तर उद्योग परिसरभित्र ‘कञ्चनजङ्घा नेचुरल स्प्रिङ मिनरल वाटर इन्डस्ट्रीज’ लेखेको स्टिकर, जार भर्ने धारामा कपडा लगाएको, कार्यालय कक्षको भित्तामा नेपाल बोटल वाटर उद्योग संघले मेरिना कायस्थलाई सहकोषाध्यक्षको प्रमाण पत्र दिएको प्रमाणपत्रलगायत प्रमाण फेला परेको उनले बताए ।

टोलीले बुधबार नै आक्वा मिनरल्स नेपाल प्रालि र ग्राण्ड खानेपानी सेवा प्राइभेट लिमिटेडको पनि अनुगमन गरेको छ । खानेपानी गुणस्तरका पारामिटरमध्ये केही परीक्षण गरिएका थप विवरण आउन बाँकी रहेको भ्याली बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *