पार्टी कसैको निजी कम्पनी होइन ः थापा


काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने विषयमा कांग्रेससँग कुनै प्रकारको छलफल नभएको बताएका छन् । उनले पूर्वप्रधानमन्त्रीहरूको क्लबको बन्द कोठामा हुने सम्झौतालाई आफूहरूले नचिन्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा थापाले लेखेका छन्, प्रधानमन्त्रीले भन्नुभएछ– सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो । प्रमज्यूलाई प्रश्न छ, कुन सहमति ? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्‍यो सहमति ? उनले पार्टी कसैको निजी कम्पनी नभएकाले पार्टी प्रमुखले गरेको निर्णयको भारी पार्टीले नबोक्ने पनि बताएका छन् । प्रमज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बीचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस् ।

यो तपाईंहरूबीचको समझदारी हो, पार्टीहरू बीचको होइन । पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टीभित्र छलफल हुनुपर्छ । अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन, थापाले भनेका छन् । उनले अगाडि भनेका छन्, जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन । हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले–जहिले अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिरहने छौँ । हिजो त्यहीँ काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन । सरकारले सोमबार मात्र नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसलाई लिएर सत्ता साझेदार दलहरूकै नेताहरूले विरोध गरिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *