त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिसिटिभि फुटजको रेकर्ड २१ दिनदेखी ६१ दिन क्षमताको विस्तार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिसिटिभी फुटेज २१ दिन देखि नरहेको विषयमा संचार माध्यममा समाचार प्रकाशन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हाल विमानस्थलमा सिसिटिभि फुटजको रेकर्ड २१ दिनदेखी ६१ दिन क्षमताको विस्तार भइसकेको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक प्रताप बाबु तिवारीले मंगलबार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिए ।
विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सिसिटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोभिड –१९ का कारण बजेट अभाव भएको र प्राथमिक क्षेत्रमा वजेट व्यवस्था गर्नु पर्ने भएकोले बजेट उपलब्ध हुन नसकेपछि आ.वा. २०७९/८० मा बजेटको व्यवस्था भई टेन्डर प्रक्रिया अन्तर्गत खरिद गरी असोज २७ रेकर्ड स्टोरेज विस्तारको लागि नागरिक उड्डयन, भन्सार कार्यालय, नेपाल प्रहरी, अध्यागमन कार्यालय प्रमुखको उपस्थितिमा संयुक्त बैठक बसी निर्णय गरी जानकारी समेत गराई तीन महिना स्टोरेज क्षमता भएको प्रविधिको जडान कार्य अघि बढाइएको जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
१६ टीबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गर्न सुरुमा केही समय लागेको र तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमताको भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । यस अघि त्रिभुवन विमानस्थल कार्यालयमा सिसिटीभी फुटेजको रेकर्ड बढीमा २९ दिन सम्म स्टोरेज क्षमता
रहेको थियो । तर यस वर्ष स्टोरेज क्षमता विस्तारको कार्य सम्पन्न भई सकेकोले सम्पूर्ण सिसिटिभी क्यामेराको रेकर्ड स्टोरेज ३ महिनाको हुने जनाइएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ५०० भन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिएको छ। सिसिटिभी जडानको कार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गर्ने र त्यसको अपरेशन तथा सर्वेलेन्स नेपाल प्रहरीले गर्दै आएको कार्यालयले जनाएको छ ।