वैदेशिक रोजगारीमा पठाइदिने भन्दै २४ लाख तीस हजार ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई प्रहरीले अनुसन्धानका क्रममा दुई भिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरी र दोलखा मेलुङ गाउँपालिका वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २४ बाङगेमुढा बस्ने ५० वर्षीय ढाल बहादुर बुढाथोकी रहेका छन् ।
कैलाश गिरीले भाष्कर दत्त भट्टलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिने, कतार जानका लागि तीन लाख लाग्ने तथा कतार पुगेपछि मासिक तलब ८० हजार हुने भन्दै पटकपटक गरी दुई लाख ९४ हजार ठगी गरी सम्वर्कविहीन भएपछि अनुसन्धानमा खटिएको प्रहरी अनुसन्धानको टोलीले पौष १७ गते काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ गोठाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
यस्तै वैदेशिक रोजगारीकै क्रममा रोमनिया पठाउने भन्दै ढाल बहादुर बुढाथोकीले मिलन नेपाली समेत १४ जनालाई रोमनिया जानका लागि प्रतिव्यक्ति छ लाख लाग्ने र रोमनिया पुगेपछि फुड प्याकिङमा मासिक तलब एक लाख कमाई हुने भन्दै पटक–पटक गरी १४ जनाबाट २१ लाख ३६ हजार लिएर फरार भएपछि अनुसन्धानमा खटिएका प्रहरीले पौष १८ गते बुधबार काठमाण्डौ महानगरपालिका वडा नं. २५ असनबाट ढाल बहादुर बुढाथोकीलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।