बाढीको समस्या समाधानका लागि आफूले मास्टरप्लान बनाएर काम गरिरहेको छुः चौधरी
काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा बाढीको समस्या समाधानका लागि आफूले मास्टर प्लान बनाएर काम गरिरहेको बताएका छन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत वडा न. १ भिठ्ठा बर्गदवामा १०८ शतचण्डी महायज्ञको शुभारम्भ गर्दै उहाँले बताए । उनले सुस्ता बर्दघाटमा ६ वटा नदीमा बाढीको समस्या रहेकाले त्यसको दीर्घकालीन समस्या समाधानका लागि गुरु योजना बनाइ काम गरिरहेको बताए । उनले अहिले आगामी आर्थिक वर्षको बजेटमा सो क्षेत्रको समस्या समाधानका लागि सो योजना पार्न अर्थमन्त्रालयमा प्रयास जारी राखेको बताए । २ अर्ब ६० करोड रुपैयाँ लगभगको सो बजेटलाई मूर्तरुप दिनसके ४ वर्षमा सो क्षेत्रबाट बाढीको प्रकोपबाट जनता मुक्त हुने बताए । यसअघि बाढीको समस्या समाधान गर्नुभन्दा समस्यालाई डरलाग्दो बनाइराखेर राजनीति गर्ने काम भएको बताए । श्री बाउन्नगढी काली मन्दिर संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले श्री शतचण्डी महायज्ञ आयोजक मुल समितीद्वारा आयोजित महायज्ञमा भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहेको छ । उनले भने, ‘तपाईंहरुले यो प्रोसेसको थालनी गर्नुस्, आदरणीय, मान्य सन्तीजहरु यहीँ नै हुनुहुन्छ ।
यो एउटा ठूलो सोचका साथ मास्टर प्लान बनाउँ । त्यसपछि प्रदेशको तहमा पनि जान्छौँ । ४० औं वर्षसम्म यो क्षेत्रको सुस्ताको यहाँको आंशिक रुपमा बर्दघाटका केही क्षेत्रको डुबानलाई एउटा राजनीतिक मागि खाने भाँडोको रुपमा नेताहरुले प्रयोग गरेका थिए । कहिले पनि त्यसलाई एउटा समग्र सधैँको लागि समाधान हुने सोच अघि सार्न सकेनन् । र चाहेनन् । मलाई पनि निर्वाचनको क्रममा आउँदा त्यो नछुनु है ? हात नहाल्नुस्, भन्थे । यो संवेदनशील छ, फलानो फलानो देश रिसाउँछ, त्यो सब बेकारको हो । मानिसलाई कमजोर बनाइ राखेर राजनीति गर्ने काम मात्र हो यो । किसान, जनतालाई कमजोर बनाउने । एक वर्षको दौरानमा हामीले यहाँका ६ वटा खोलाको बाढी समाधानका लागि बाहिरका इन्जिनियरहरुलाई बोलाएर अहिले एकीकृत मास्टर प्लान तयार भएर बजेटलाई अघि बढाउने काम भएको छ । अर्को सालको बजेटमा त्यो २ अर्ब ६० करोड लगभगको त्यो बजेटलाई मूर्त रुप दिनसके ४ वर्षभरमा यो क्षेत्रबाट बाढीको प्रकोपबाट जनता मुक्त हुनेछन् ।