प्रधानमन्त्री कपमा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ।
आज (शुक्रबार) टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो । जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय ९ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए । त्यस्तै अंकित सुवेदीले ५३ रनको योगदान दिए ।
यता बागमतीका इशान पाण्डेले ५ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले बागमतीले ४८ दशमलव ३ ओभरमा अलआउट हुँदै २ सय ७३ रन बनाएको थियो ।
बागमतीका आशुतोष घिरैयाले १ सय १८ रनको योगदान दिएका थिए । कोशीका लागि अभ्यास तिम्सिनाले ३ विकेट लिए । जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोशी प्रदेश लगातार पाँचौ हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ ।