सशस्त्र प्रहरीको ‘क्वीक इम्पेक्ट प्रोग्राम’
काठमाडौं । आफ्नो २३औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बलले ‘क्वीक इम्पेक्ट प्रोग्राम’ सञ्चालन गरेको छ । आफ्नो २३औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले यो योजना ल्याएको हो । यसअन्तर्गत सशस्त्र प्रहरी बलको नेपाल नम्बर–९ पशुपतिनाथ बाहिनीले संगठन र नागरिकबीचको सम्बन्धलाई विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत बाहिनीले अशक्त दर्शनार्थीको सहजताका निम्ति पशुपति विकास कोषलाई ह्वील चियर हस्तान्तरणका साथै मन्दिरको सरसफाइ गरेको छ ।
बाहिनीका प्रमुख एवं डीआईजी पुरुषोत्तम थापाले कोषका सदस्यसचिव राजुकुमार क्षेत्रीलाई चारथान ह्वील चियर हस्तान्तरण गरेका हुन् । यस्तै, सशस्त्र प्रहरी बल पशुपतिनाथ बाहिनीले तारकेश्वर नगरपालिका–५, गोलढुंगामा रुद्रमती किरियापुत्री धाम निर्माण गरेर धाम सञ्चालक समितिका अध्यक्ष नवराज चापागाईंलाई हस्तान्तरण गरेको छ । यही माघ ९ गते सशस्त्र प्रहरीले २३औँ स्थापना दिवस मनाउँदै छ ।