बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको मृत्यु

सिन्धुली । रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीका बुवाको मृत्यु भएको छ ।

सिन्धुली प्रहरीका अनुसार जिल्लाको भिमानमा मंगलबार ट्याक्टरले ती किशोरीको बुवालाई ठक्कर दिँदा दुर्घटना मृत्यु भएको हो । कमलामाई नगरपालिका ९ कोरुंङखोला स्थित मदन भण्डारी राजमार्गमा भएको सवारी दुर्घटनामा उनकाे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार डकाहाबाट भिमान तर्फ आउँदै गरेको प्र २—०४—००१ त ००१० नम्बरको ट्याक्टरले रौतहटबाट डकाहा तर्फ जाँदै गरेको बा ५८ प ९१४१ र रौतहटबाट डकाहा तर्फ जाँदै गरेको ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर बाट घाइते भएका मोटरसाइकल चालक जिल्ला रौतहट गुजरा नगरपालिका २ का ६३ वर्षीय किशाेरीका बाबुकाे जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हाे । टाउको र अनुहारमा चोट लागेकाे अवस्थामा गम्भीर रहेको उनकाे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको हाे ।

उनकाे शव जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ । दुर्घटनामा ना ११ प ५७५० नम्बरको मोटरसाइकल चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ घर भएका ६३ वर्षीय विष्णु बहादुर थिङको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ । यसैबीच आफन्तले उनलाई षड्यन्त्र गरेर मारिएको हुन सक्ने आशंका गरेका छन् ।

ती किशोरीका बुवाले केही दिनअघि मात्रै आफ्नी छोरीलाई भएको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए। ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *