आज टुँडिखेलमा घोडेजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ । काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ । टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ ।
नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरी सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउने परम्परा छ । चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेको छ । उपत्यकामा घोडेजात्रा मनाउने परम्परा पनि मध्यकालदेखि नै प्रारम्भ भएको मानिन्छ ।
पहिले नयाँ वर्षलाई मनोरञ्जनात्मक बनाउनको लागि घोडेजात्रा पर्व मनाइन्थ्यो भन्ने कथन समेत रही आएको छ । हाल आएर हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा मनाउने गरिएको छ । जनविश्वासमा आधारित यस परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न नेपाली सेनाले घोडेजात्राको दिन नेपाल क्याभ्लरीको कमाण्डिङ अफिसरको नेतृत्वमा घोडाघोडीबाट कौशलपुर्ण एवं रोमाञ्चक कला प्रदर्शन गर्ने गरिन्छ । घोडेजात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।