सरकार गठन र विघटन हुनुको मुख्य कारण निर्वाचन प्रणाली हो : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको समस्याको मुख्य कारण निर्वाचन प्रणाली भएको बताएका छन् । उक्त निर्वाचन प्रणालीकै कारण सरकार गठन र विघटन भइरहेको उनको भनाइ छ ।
नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै कांग्रेसका नेता कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने बताएका छन् । त्यसका लागि कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको पनि नेता कोइरालाको भनाई छ । उनले संविधान संशोधनमार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिँडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
नेता कोइरालाले संविधानसभाको पहिलो निर्वाचनबाट कम्युनिस्टहरू पटक–पटक सत्तामा पुगे पनि संविधान बनाउन नसकेको र दोस्रो संविधानसभाबाट कांग्रेसको नेतृत्वमा सरकार बनेपछि मात्र संविधान बनेको स्मरण गर्दै भने
“परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ,” उनले भने ।
कोइरालाले राजनीतिक स्थिरता, सुशासन र विकास आफ्नो मूल एजेन्डा भएको र त्यसमा आफू पूर्णरूपले प्रतिबद्ध रहेको पनि बताए ।