एकैपटक पेट्रोलको मूल्य सात रुपैयाँ डिजेलको पाँच रुपैयाँले घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५.०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेलको मूल्य १५१.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ ।