लघुवित्तका कर्मचारीलाई तर्साउने धम्काउने नगर्न वित्तीय संगठनहरुको चेतावनी

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका कर्मचारी तर्साउने धम्काउने तथा संस्था तोडफोड गर्ने कार्य तत्काल रोक्न बैंक तथा वित्तीय संस्था सम्बद्ध चारवटा संस्थाले अपिल गरेका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी ऐन, नियम र परिधिमा बसी संस्थाहरूले निर्बाध बैंकिङ कारोबार गरिरहेकोमा उक्त संस्थाका कर्मचारीमाथि धरपकड हुने र संस्था समेत तोडफोड गर्ने कार्य नरोकिएको भन्दै नेपाल बैंकर्स संघ, विकास बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सरकारको ध्यानाकर्षण गरेको हो । सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूको संगठनले यस्तो कार्य तत्काल रोक्न र यस्तो गतिविधिमा सामेल अराजक गतिविधि चलाउनेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
यस्तो संघ वित्तीय संघहरुद्वारा जारी संयुक्त विज्ञप्ति
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिई ऐन, नियम, कानुन र नेपाल राष्ट्र बैंकको निर्देशनको परिधि भित्र रही पब्लिक लिमिटेड कम्पनीको रूपमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले छरिएर रहेको रकमलाई संकलन गरी देशको विभिन्न ठाउँमा रहेका व्यवसायी, उद्योगी र दुर्गम क्षेत्रमा समेत सरल र सहज तरिकाले वित्तीय सेवा प्रदान गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेका छन् । विगत केही समय यता केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरू लाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पुर्‍याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको हामीले पाएका छौँ । पछिल्ला दिनहरूमा यस्ता क्रियाकलाप झन् बढ्दै गएको र विशेष गरी लघुवित्त वित्तीय संस्थाहरूलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरूले थप लक्षित गरेको देखिएको छ । पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरूका केही शाखाहरूमा केही अप्रिय घटनाहरू भएका छन् । कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, तर्साउने, धम्क्याउने, कार्यालय तोडफोड गर्ने लगायतका निन्दनीय कार्यहरु भएको छ । आफ्ना ग्राहकहरुलाई सेवा दिन अहोरात्र खटिएका कर्मचारीहरू माथि गरिएको यस प्रकारको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । करौडौं व्यक्तिहरूको श्रम र पसिनाले आर्जित निक्षेपलाई सुरक्षाको जिम्मेवारी लिएर सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना निहित स्वार्थ पूर्तिका लागि नियोजित रूपमा आक्रमण गर्ने त्यस्ता व्यक्ति तथा समूहहरूको अराजक क्रियाकलापको हामी भर्त्सना गर्दछौं । लघुवित्त क्षेत्रमा व्याप्त अन्यौलको स्थितिलाई समाधानका लागि नेपाल सरकारले कार्यदल गठन गरी कार्य गरिरहेको अवस्थामा समेत भइरहेका यस्ता अवाञ्छित गतिविधिले वित्तीय सेवा सहज रूपमा पाउने अधिकारबाट ग्राहकवर्ग बञ्चित हुन पुगेका छन्। प्रचलित ऐन, कानुन बमोजिम स्थापित संस्थाहरूले कानुन बमोजिम सहज रूपमा कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा हामी खेद प्रकट गर्दछौं। यस प्रकारका अवाञ्छित गतिविधिहरु लाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थालाई सहज रूपमा सेवा प्रदान गर्ने वातावरण बनाइ दिन र आवश्यक सुरक्षाको व्यवस्था मिलाइ दिनका लागि हामी नेपाल सरकार सँग जोडदार माग गर्दछौं । त्यस्तैगरी, व्यावसायिक सहजीकरणका लागि हाम्रो नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा आवश्यक सहयोग र सुरक्षा प्रदान गरिदिनका लागि स्थानीय सरकार तथा सम्बन्धित अन्य निकायहरु लाई हार्दिक अनुरोध गर्दछौ । ग्राहक र बैंक तथा वित्तीय संस्था बिचमा सुमधुर सम्बन्ध कायम गर्न दृढ रही, ग्राहकको हित संरक्षणलाई सदैव मुख्य प्राथमिकतामा राखी, यस्ता किसिमका घटनाहरू बाट कत्ति पनि विचलित नभई आगामी दिनमा निरन्तर रूपमा ग्राहकलाई अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न हामी पूर्णरुपमा प्रतिबद्ध रहेका छौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *