एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे अन्तर्क्रिया
काठमाण्डौं । फुटबल क्लब,एफसी चितवनुले नेपालमा फुटबल खेलका विभिन्न आयमहरु बारे सरोकारवालाहरू बिच अन्तर्क्रिया गराएको छ । एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो। अन्तर्क्रियामा ५ सय भन्दा बढी खेलाडीहरू, विद्यार्थीहरु र नेपाली फुटबलका सरोकारवालाहरू सहभागी थिए। छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्थाहरू, निजी संस्थाहरू र खेलाडीहरूको भूमिकाबारे विभिन्न दृष्टिकोणहरू प्रस्तुत भएका थिए ।
साथै विभिन्न सरोकारवालाहरू बिच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना र नीति निर्माणमा खेलाडीहरूको आवाजलाई समावेश गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू पनि छलफलमा उठेका थिए। अन्तरक्रिया सँगसँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथाम जस्ता आवश्यक विषयहरूमा समेत विज्ञद्वारा प्रस्तुति गरिएको थियो । आधुनिक उपकरणहरू तथा प्रस्तुतिबाट विद्यार्थी खेलाडीहरू उत्साहित भएका थिए । यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नु पर्न खेलाडीहरूको भनाइ थियो ।

















