सहकारी महासंघको आयोजनामा ‘कोप जब फेयर’ शुक्रबारदेखि हुने
काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यहि असार ७, ८ र ९ गते ललितपुरमा ‘सहकारी रोजगार मेला’ हुने भएको छ । सहकारी क्षेत्रमा हुन लागेको यसप्रकारको रोजगार मेला पहिलो हो । महासंघले आज एक पत्रकार सम्मेलनको आयोजना गरी रोजगार मेला–२०८१ को तयारी पुरा भएको जानकारी गराएको छ । महासंघकी अध्यक्ष ओमदेवी मल्लले ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ भन्ने मूख्य थिमका साथ नेपालको सहकारी इतिहासमा पहिलो पटक हुन लागेको यो रोजगार मेलाले सहकारीमा मर्यादित रोजगारीका अवसरहरू प्रवर्द्धन गर्न एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने बताइन्। उनले भनिन् ‘हाल ३१ हजार भन्दा बढी सहकारी संघरसंस्थामार्फत १ लाख बढीलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार सिर्जना गर्न सफल रहेको यस क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएका छौं । मेलाको आयोजनाले प्रतिभा पलायन रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्न तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्नुका साथै स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङ मेलाले गर्ने अपेक्षा गरिएको छ । देशभित्रै स्वरोजगारीका अवसरहरू सिर्जना गर्दै आएको सहकारी क्षेत्रका विषयमा युवालाई जानकारी गराई वैदेशिक रोजगारीको प्रवाह कम गरी उद्यमशीलता विकास गर्न समेत टेवा पुग्ने देखिन्छ । मेलाले समयमा नै जागिर सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ लिन सकिने भएकाले मेलाप्रति युवाको थप आकर्षण हुने अनुमान गरिएको छ ।
रोजगारदाता र रोजगारीको खोजी गर्नेहरूको बीच पुलको काम गर्ने उद्देश्यका साथ सञ्चालन भएक मेलालाई प्रभावकारी बनाउन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि (नेफ्स्कून) नेपाल कृषि सहकारी केन्द्रिय संघ लि सह–आयोजकका रूपमा रहेका छन् । निःशुल्क प्रवेश गर्न सकिने मेलामा विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिव ५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । साथै, माननीय सांसदहरु, राष्ट्रसेवकहरू, उच्च पदस्थ प्रहरी अधिकृतहरुवा समेत मेलाको अवलोकन हुनेछ । मेलामा अवलोकनकतां तथा रोजगारी खोजीमा रहेको युवाहरूक लागि क्युआर कोड स्क्यानमार्फत रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाइएको छ । मेलामा रोजगारदाताक स्टलहरू रहने छन् साथै सहकारीमार्फत उद्यमी बनेकाहरूका उत्पादनलाई समेत मेलामा स्थान दिइएको जनाइएको छ।