स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।

आज (सोमबार) मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् । साथै मन्त्री पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने पनि बताएका छन् ।

उनले भने ‘नेपालको स्वास्थ्य उपचार क्षेत्रमा सुधार भएको महसुस गराउनेछौं । एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने, व्यवस्थित स्वास्थ्य सुविधा हामी अगाडि बढाउनेछौं’, ‘धेरै ठूला काम कति गर्न सक्छौं, तर साना साना कुराहरुको परिवर्तन गरेर देखाउन सक्छौं ।’ मन्त्री पौडेलको भनाई छ । मन्त्री पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरुको सूची सार्वजनिक गर्ने पनि बताए । ‘अबको एक हप्ताभित्र मन्त्रालयले तत्काल के गर्छ भन्ने कुरा र ३ महिनाभित्र, ६ महिनाभित्र र एक वर्षभित्र गर्ने कार्यक्रम सार्वजनिक गर्नेछौं’, उनले भने ।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा विजयी बनेका पौडेल पहिलो पटक मन्त्री बनेका हुन् । उनले आज (सोमबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा शपथ लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *