सिटिजन्स बैंकको ८.९९ प्रतिशत ब्याजमा घर कर्जा योजना
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१।८२ को सुरुवातसँगै नयाँ योजना ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकले ७ वर्षको लागि स्थिर रहने गरी ८।९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना मंगलबार सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कायम रहेको व्याजदर ७ वर्षसम्म स्थिर रहने बताइएको छ । ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशतले प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी दिए ।
यस आकर्षक योजनामा सहभागी हुन नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सकिन्छ । घर कर्जा सुविधा उपभोग गर्ने ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत सर्तसहितको छुट रहेको छ । बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिँदै आएको छ । बैंकले कर्मचारीको वृद्धि विकासको लागि सातवटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ सेन्टर आरम्भ गरेर काम गरिरहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६० वटा एटीएम, ३ विस्तार काउन्टर र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।